लालबन्दी । सर्लाहीको लालबन्दीसहित तराईका जिल्लाहरुमा आजबाट चिसो बढेको छ । आज बिहानबाट हुस्सु लागेसँगै चिसो बढेको हो ।
केहि दिनदेखि बिहान बेलुका चिसो भएर दिउँसो न्यानो घाम लाग्ने गरेको भएपनि आजबाट भने हुस्सु लाग्न थालेको छ । हुस्सुका कारण बिहानपख दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईमा आंशिक प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सर्लाहीसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ । आज घाम लागेको छैन ।
यसैबिच पर्सि आइतवार र सोमवार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार पश्चिमी वायुको असरले आइतवार र सोमवार हल्का पानी पर्ने सम्भावना छ । विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आज पनि कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आउँदो २४ घण्टामा कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा वर्षाको साथै भोलि बिहान तराई तथा उपत्यका धेरै ठाउँहरुमा हुस्सु र केही ठाउँहरुमा कुहिरोको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।