सर्लाही । प्रदेशको पहिलो अनौपचारिक विद्यालय औपचारिक रूपमा संचालनमा आएको छ ।
मधेश प्रदेशको सर्लाही जिल्लामा रहेको बलरा नगरपालिकामा प्रदेशको पहिलो अनौपचारिक तथा वैकल्पिक विद्यालय संचालनमा आएको हो ।
विद्यालय पढ्न जान नसकेका वा बिचैमा पढाइ छाडेका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्न र सम्पूर्ण नेपालीलाई आधारभूत शिक्षा प्रदान गर्ने उद्देश्यले अनिवार्य शिक्षा तथा निशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीद्वारा अनौपचारिक तथा वैकल्पिक विद्यालयको अवधारणा अगाडि ल्याएको छ । सोही अवधारणाको आधारमा देशभर १७१ अनौपचारिक विद्यालय, १२१ विद्यालयमा खुल्ला शैक्षिक कार्यक्रम तथा २ हजार १५१ सामुदायिक सिकाइ केन्द्र संचालनमा छन् ।
देशभर १२१ अनौपचारिक विद्यालय रहे पनि गत शैक्षिक सत्रसम्म मधेश प्रदेशमा एउटा पनि नरहेको अवस्थामा पहिलो अनौपचारिक विद्यालय संचालनमा आएको हो । चालु शैक्षिक सत्र २०८१ देखि बलरा ४ काका अनौपचारिक तथा वैकल्पिक विद्यालय संचालनमा आएको हो ।
बलरा नगरपालिका कार्यालयद्वारा २०८० फागुन ३० गते २०८१ देखि लागू हुने गरी अनौपचारिक तर्फको तह एक, दुई र तीनसम्मको अनुमति दिइएको हो । नगरपालिकाद्वारा सामुदायिक सिकाइ केन्द्र संचालन एवं व्यवस्थापन निर्देशिका तयार पारेर अनौपचारिक विद्यालय संचालनको अनुमति दिएको हो । सामुदायिक सिकाइ केन्द्रको निर्देशिका तयार पार्ने देशको पहिलो नगरपालिका सर्लाहीको बलरा बनेको छ ।
केन्द्रको आफ्नै लगानीमा अनौपचारिक विद्यालयको भवन शैक्षिक सत्र सुरु हुनुभन्दा पहिले नै निर्माण भइसकेको थियो । नगर प्रमुख रामाशंकरप्रसाद कुशवाहाको सुझबुझबाट प्रदेशको पहिलो अनौपचारिक तथा वैकल्पिक विद्यालयको संचालन बलरामा हुन सकेको संस्थापक डा। कमलेश्वरकुमार सिन्हाको भनाइ छ ।
विद्यालयको सहजकर्ताको रुपमा परिचालक मनिषा सिंह तथा कम्प्युटर अपरेटरको रुपमा रामबाबु महतो रहेको काका अनौपचारिक विद्यालयको तह एकमा हाल ३५ जनाको सहभागितामा कक्षा संचालन भइरहेको डा। सिन्हाले जानकारी गराउनु भयो । अनौपचारिक तथा वैकल्पिक शिक्षातर्फको संश्लेषित पाठ्यक्रम २०७९ तह १ ९कक्षा १–३० नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरबाट स्वीकृत गरिएको डा। सिन्हाको भनाइ छ ।
सिकाइ केन्द्र अनौपचारिक तथा वैकल्पिक शिक्षातर्फको पाठ्यक्रम संश्लेषणको संरचना हेर्दा भाषिक सिप विकाससम्बन्धी क्रियाकलाप ९नेपाली०को वार्षिक कार्यघन्टा १६०, भाषिक सिप विकाससम्बन्धी क्रियाकलाप ९अंग्रेजी० को वार्षिक कार्यघन्टा १२८, गणितीय सिप विकाससम्बन्धी क्रियाकलापको वार्षिक कार्यघन्टा १२८, विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षा, सामाजिक अध्ययन, चारित्रिक विकास तथा सिर्जनात्मक कलासम्बन्धी क्रियाकलापको वार्षिक कार्यघन्टा २५६ तथा मातृभाषिक सिपरस्थानीय विषयवस्तुसम्बन्धी क्रियाकलापको वार्षिक कार्यघन्टा १६० निर्धारण गरिएको छ । अधिकांश कार्यघन्टा स्वनिर्देशित रहेको र प्रत्यक्ष कार्यघन्टा तुलनात्मक कम रहेकोले अनौपचारिक विद्यालयमा अध्ययनरत बालबालिकाले धेरै हदसम्म घरमा पनि बसेर अध्ययन गर्न सकिने बताइएको छ ।
अनौपचारिक विद्यालयमा अध्ययनको लागि लक्षित उमेर ८देखि १४ वर्ष रहेको र सिकाइ सामग्री चारओटा उपलब्ध रहेका छन् । एक वर्षको समयावधि दिइएको पहिलो तहलाई कक्षा १ देखि ३ सम्मको मान्यता बराबर रहेको छ । औपचारिक विद्यालयभन्दा बाहिर रहेका सम्बन्धित उमेरका बालबालिका नै लक्षित समूह रहेको डा। सिन्हाको भनाइ छ ।
पहिलो अनौपचारिक तथा वैकल्पिक विद्यालयलाई औपचारिक रुपमा संचालन गर्न अवसर दिने सम्बन्धित विभागदेखि नगर प्रमुख कुशवाहासम्मलाई धन्यवाद दिँदै संस्थापक डा।सिन्हा भन्नुहुन्छ – काका सामुदायिक सिकाइ केन्द्रको एउटा लक्ष्य पूरा भएको छ । आगामी दिनमा शिक्षा, चेतना तथा मातृभाषा शिक्षाको क्षेत्रमा थप विभिन्न काम गर्दा सबै क्षेत्रको सहयोग पाउने अपेक्षा गरेको छु ।
केन्द्रले हरेक वर्ष अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउँदै आएको छ ।