आज मानिसको जीवन अनेकौँ द्विविधा र दौडधुपले भरिएको छ । संसारको अवस्था पनि अशान्तिले गर्दा यति उथलपुथल भएको छ कि ‘यस संसारमा कहिल्यै शान्ति पनि हुन्छ’ भन्ने कुरामा मानिसहरूलाई विश्वास लाग्दैन । यस कुरालाई हामी कल्पना पनि गर्न सक्दैनौँ । कहिल्यै यो संसारमा यस्तो पनि हुन सक्ला र जहाँ केवल शान्तिमय परिवेश बनोस् ? अर्थात्, कुनै लडाइँ, झगडा या त कुनै वादविवाद नहोओस् ।
यदि हेर्ने हो भने आजसम्म यो संसारमा त्यति धेरै लडाइँ भएको छैन । शान्तिको वातावरण बनोस् भनेर मानिसहरूले सदैव यही नै कोसिस गरेको देखिन्छ । मानिस खेतीपातीमा लाग्न थालेपछि कसैले हलो चलायो, कसैले पानी डोर्यायो, कसैले बिउ छ¥यो । अन्न पाकेर तयार भएपछि परिश्रम गर्न नचाहनेहरूले त्यो अन्नलाई काटेर लगे पनि । तबबाट मानिसहरूले यी सबै कुरालाई व्यवस्थित तुल्याउने अभ्यास गरे । त्यस बेलादेखि राजा बने, तबदेखि लडाइँ हुन थाल्यो ! तथापि, एकपटक खेती हुन थालेपछि मानिसहरूको जीवनमा यस्तो हुन थाल्यो– ‘यो मेरो जमिन हो ।’ उक्त अवस्थाभन्दा पहिला कसैलाई जमिनसँग कुनै मतलब थिएन ।
शान्ति र अशान्ति के हो भन्ने बारेमा त हामी सबैलाई राम्रोसँग थाहा छ तर यस कुरासँग हाम्रो जीवनको के महत्त्व रहन्छ । यो संसारमा समस्या धेरै छैनन्, समस्या थोरै छन् । मानिस भोकले मर्छन् । यो समस्या यसकारण सानो हो किनभने यो पृथ्वीमा यति धेरै खाना उत्पादन हुन्छ जसले सबैको भोक मेट्न सक्छ । यदि अन्न उत्पादनका लागि पृथ्वी सानो हुँदो हो त तब यो एकदमै ठूलो समस्या हुन सक्थ्यो । तथापि, यो पृथ्वी हुनु यस चीजका लागि अनिवार्य विषय हो । यहाँ यति धेरै अन्नको उत्पादन हुन्छ तर त्यो खाद्यान्न धान, गहुँ लगायतका चीजको मूल्य नियन्त्रण गर्नका लागि फ्याँकिन्छ अनि भोकमरीको समस्या बनिरहन्छ ।
यो धन–सम्पत्ति, पैसा यी सबै कुरा मानिसले बनाएका हुन् । प्रकृतिले सुन बनायो अनि मानिसले त्यसको मूल्य निर्धारण गरिदियो । मानिसले मूल्य तोकेपछि त्यसले मानिसलाई नै पिरोल्न थाल्यो अनि ‘ऊसँग यति धेरै किन छ ? मसँग त्यति किन छैन !’ यी सबै कुरा मानिसले नै बनाएका हुन् । अनि मानिसले यी कुरालाई झेल्दै आइरहेको छ । यिनै चीजका कारण दुःखी हुन्छ । आफ्नो भविष्यलाई धिकार्छ– ‘मलाई किन यस्तो भइरहेको छ ? म किन धनी हुन सकिन ? ऊ किन धनी भयो ? म किन गरिब भएँ !’ यी कुरा त भइरहन्छन् । तथापि, यथार्थ कुरा के हो भने शान्ति हामी सबैभित्र छ । शान्ति कुनै बाहिर पाइने वस्तु होइन । त्यो हामीभित्र छ । मानिसले त्यो शान्तिलाई अनुभव गर्न थालेपछि उसले यो कुरा बुझ्न थाल्छ– ‘यो मेरो प्रकृति हो । म यो हुँ ।’ परिणामतः सबै कुरा बदलिन थाल्छ ।
एउटा समय थियो ऐना थिएन । यसकारण मानिसहरूले आफूले आफूलाई राम्रोसँग हेर्न पाउँदैनथे जसरी आज हेरिरहेका हुन्छन् । मानिसहरू पानीमा आफ्नो छायालाई हेर्ने गर्दथे । पानीमा देखिने छाया त यताउता हल्लिरहन्थ्यो । त्यसैले मानिसले स्वयम्लाई राम्रोसँग नियाल्न सक्दैनथे । अर्थात्, मानिसले आफ्नो अनुहारलाई राम्ररी हेर्न सक्दैनथे । राम्ररी चिन्न सक्दैनथे । अनि जब ऐनाको विकास भयो तबदेखि हरेक मानिसले आफ्नो अनुहारलाई देख्न पाइरहेका छन् । मानिसहरूले आफ्नो फोटो देखेर ‘यो मेरो फोटो हो’ भन्न पाएका छन् किनभने अहिले उनीहरूलाई आफ्नो अनुहार कस्तो छ भन्ने कुरा थाहा छ ।
ठीक यस्तै प्रकारले जब मानिसले आफ्नो प्रकृतिलाई बुझ्न थाल्छ तब उसलाई थाहा हुन्छ– शान्ति मभन्दा टाढा छैन । म शान्तिबाट टाढा छैन । लडाइँ बाहिरबाट हुने होइन । त्यो मानिसको भित्रबाट आउँछ अनि शान्ति पनि मानिसभित्रबाटै आउँछ । शान्ति पनि मानिसभित्रै हुने कुरा हो । जब दुवै कुरालाई उसले पहिचान गर्न थाल्छ तब उसले राम्रो र खराब के हो भन्ने कुरालाई बुझ्न थाल्छ ।
आफूले आफूलाई चिन्नुहोस् ! आफूले आफूलाई पहिचान गर्नुहोस् । जबसम्म आफूले आफूलाई चिन्न सकिँदैन, पहिचान गर्न सकिँदैन तबसम्म शान्ति हामीबाट टाढा छैन भन्ने कुरालाई बुझ्न सकिँदैन । शान्ति त भित्रको कुरा हो । यसर्थ यो संसारलाई बदल्नु आवश्यक छैन । यदि तपाईँसँग एउटा टर्च छ र त्यसमा एउटा बल्ब छ । बल्ब जल्यो भने एउटा नयाँ बल्ब राखिदिनुहोस् अनि त्यो बल्न थाल्नेछ । यो कुरा मानिसमा पनि लागू हुन्छ । मानिसले पनि आफूले आफूलाई चिन्यो आफूले आफूलाई बुझ्यो भने यी सबै कुरालाई बदल्नुपर्ने आवश्यकता नै पर्दैन । किनकि, चीजलाई अलिकति बदल्नु, अलिकति सहज तुल्याउनु यो कुरा त मानिसको दिमागको आविष्कार हो । यद्यपि यसमा न त कुनै खराबी छ न कुनै राम्रोपना छ । वास्तवमा शान्तिको स्रोत मानिस हो, ती चीजहरू होइनन् । यसको अर्थ के हो भने खाना पकाउन नजान्नेलाई तपाईँले राम्रा–राम्रा सरसामान जुटाइदिए पनि खाना स्वादिष्ट बन्नेछ भन्ने हुँदैन । ठीक विपरीत जसलाई आउँछ उसलाई अलिअलि कमसल चीज प्राप्त भए पनि उसले त त्यसैबाट पनि राम्रो पकाउन सक्छ । यसर्थ यही नै अन्तर हुन्छ ।
शान्तिको सम्बन्ध केवल एउटा चीजसँग हुन्छ र त्यो हो– मानिस । शान्ति उसैभित्र छ र सदैव रहेको छ । केवल त्यसलाई अनुभव गर्नु आवश्यक छ । यदि मानिसले आफ्नो ध्यानलाई थोरै भए पनि त्यतातिर मोड्ने हो भने उसले आफ्नो जीवनमा धेरै कुरालाई बदल्न सक्छ ।
(यो लेख प्रेम रावतको सम्बोधनलाई सम्पादन गरी साभार गरिएको हो । उहाँ मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता तथा विश्व प्रशिद्ध पुस्तक “आफैँलाई सुन्नुहोस्” (Hear Yourself) का लेखक हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागिः www.premrawat.com )